मधेशसमाचार

बारामा डुबेर बालिकाको मृत्यु, ग्यास लिक हुँदा एक जना घाइते

बारा, ०४ साउन

बारामा छुट्टाछुट्टै घटनामा एक बालिकाको डुबेर मृत्यु भएको छ भने ग्यास लिक भएर आगलागी हुँदा एक जना घाइते भएका छन्।
जिल्लाको सुवर्ण गाउँपालिका–७ चौरहियामा मामा घर आएकी महागढीमाई नगरपालिका–९ बलुवाकी १८ महिनाकी लालु कुमारी महतोको धान खेतमा जमेको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। बिहीबार साँझ खेल्ने क्रममा डुबेको अवस्थामा फेला परेकी बालिकाको शव मामा घरमै राखिएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी बड्कीफुलबरियाबाट प्रहरी सहायक निरीक्षक राम विद्य साहको नेतृत्वमा टोली खटिएर घटनास्थल सुरक्षित गरेको थियो। त्यसपछि जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक बिमल खतिवडाको नेतृत्वमा मुचुल्का तथा फरेन्सिक (SOCO) टोली पुगेर आवश्यक अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।
यस्तै, प्रसौनी गाउँपालिका–५ बहुअरी टोलमा ग्यास लिक भएर आगलागी हुँदा ३३ वर्षीय महेश पटेल घाइते भएका छन्। पर्साको सखुवाप्रसौनी गाउँपालिका–३ घर भएका पटेल हाल प्रसौनीमा डेरा गरी बस्दै आएका थिए।
प्रहरीका अनुसार राति खाना पकाउने क्रममा ग्यास लिक भई अचानक आगलागी हुँदा उनको अनुहार, छाती, ढाड र दुवै हात जलेका छन्। घाइते पटेलको वीरगञ्जस्थित गण्डक अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था मध्यम रहेको र आफन्तको निगरानीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुवै घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button