मधेशसमाचार

धारिलो हतियार प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइबाट गम्भीर

सत्येन्द्र प्रताप सिंह

रौतहट, ०८ साउन

​रौतहटको गुजरा नगरपालिका–५ स्थित हरिहरपुर टोलमा बिहीबार बिहान धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या गरिएको छ।
​गुजरा नगरपालिका–५ हरिहरपुर टोल बस्ने चन्देशवर साह कलवारकी श्रीमती अन्दाजी ४०/४५ वर्षीया रेनु देवी जयसवालको खुकुरी प्रहार गरी बीभत्स हत्या गरिएको हो।
​प्रहरीका अनुसार बिहीबार बिहान करिब १०:३० बजेको समयमा सोही स्थानमा बस्दै आएका एक पुरुषले रेनु देवीमाथि अचानक खुकुरी प्रहार गरेका थिए। हत्या आरोपमा बारा जिल्लाको करैयामाई गाउँपालिका वडा नं. ८ ईटहर बेलाही टोल घर भई हाल गुजरा–५ हरिहरपुर टोलमै बस्दै आएका अन्दाजी ३५ वर्षीय उपेन्द्र साह कलवार संलग्‍न रहेको प्रहरी चौकी हरिनगरले जनाए ।
​आरोपी उपेन्द्र साहले रेनु देवीको घाटीमा धारिलो हतियार खुकुरी प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो। घटना पश्चात् रेनु देवीको शव रगताम्मे अवस्थामा घटनास्थलमै रहेको थियो।
​महिलामाथि खुकुरी प्रहार गरी हत्या गरेलगत्तै आक्रोशित बनेका स्थानीयवासीले आरोपी उपेन्द्र साह कलवारलाई नियन्त्रणमा लिएर कुटपित गरेका छन्।
​स्थानीयको कुटाइबाट गम्भीर घाइते भएका उपेन्द्र साहको उपचारका लागि चन्द्रनिगाहपुरस्थित चन्द्रपुर हस्पिटल लगिएको र उनको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाए ।
​​घटनाबारे जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय लक्ष्मीनिया विजयपुर, रौतहटबाट प्रहरी निरीक्षक रादेश कुमार खत्रीको कमाण्डमा प्रहरी टोली र प्रहरी चौकी हरिनगरको टोली घटनास्थल पुगेको छ।
​प्रहरीले घटनास्थललाई आफ्नो नियन्त्रणमा लिई मृतकको शव परीक्षण तथा अन्य आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको छ। उपेन्द्र साहले कुन कारणले महिलामाथि खुकुरी प्रहार गरेका हुन् भन्नेबारे अहिलेसम्म खुल्न नसकेको र घटनाको विषयमा थप सूक्ष्म अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खत्रीले जनाए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button