कलैया, ०६ साउन
नेपाली कांग्रेस बारा जिल्ला कार्यसमितिभित्र लामो समयदेखि चल्दै आएको आन्तरिक विवाद मंगलबार झडपमा परिणत भएको छ। जिल्ला पार्टी कार्यालय कलैयामा संस्थापन पक्ष र निलम्बित सभापति राजेश राय यादव पक्षका कार्यकर्ताबीच भएको विवादपछि तनाव सिर्जना भएको हो। घटनापछि अवस्था नियन्त्रणमा लिन ठूलो संख्यामा नेपाल प्रहरी परिचालन गरिएको थियो।
घटनापछि मंगलबार साँझ कलैयास्थित दरबार होटलमा आयोजित पत्रकार सम्मेलनमा नेपाली कांग्रेस बाराका कार्यबाहक सभापति मनोज भट्टले निलम्बित सभापति राजेश राय यादवको पार्टी सदस्यता अध्यावधिक नभएको दाबी गर्दै उनी नेपाली कांग्रेसको सदस्य नरहेको बताएका छन्।
भट्टका अनुसार २०८३ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा यादवले पार्टीका आधिकारिक उम्मेदवारलाई हराउने गतिविधि गरेको आरोपमा केन्द्रीय समितिले उनलाई निलम्बन गरेको थियो। निलम्बनपछि जिल्ला उपसभापति रहेका भट्टलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको उनले जानकारी दिए।
उनले साउन ७ गते हुने ‘जरा अभियान’ समापन तथा बीपी जयन्ती कार्यक्रमको तयारीका लागि मंगलबार बिहान ११ बजे जिल्ला पार्टी कार्यालयमा विस्तारित बैठक बोलाइएको बताए। तर सोही समयमा जिल्ला महिला संघको कार्यक्रम पनि पार्टी कार्यालयमै सञ्चालन गरिएपछि दुवै पक्षका कार्यकर्ता आमनेसामने भएको र विवाद बढ्दै झडपको अवस्था सिर्जना भएको उनको भनाइ छ।
भट्टले यादव पक्षले महिलाको कार्यक्रमको आडमा पार्टी कार्यालयमा जबरजस्ती प्रवेश गरेको, कार्यक्रमका लागि विभिन्न गाउँबाट मानिसहरू भेला गराएको तथा विस्तारित बैठकमा सहभागी आफ्ना पक्षका कार्यकर्तामाथि ढुंगामुढा गरेको आरोप लगाए। उक्त घटनामा केही कार्यकर्ता घाइते भई अस्पतालमा उपचाररत रहेको उनले दाबी गरे।
पत्रकार सम्मेलनमा जिल्ला सचिव भैयाराम यादवले झडपको सूचना प्राप्त हुनासाथ जिल्ला प्रशासन कार्यालय बारा र जिल्ला प्रहरी कार्यालय बारासँग शान्ति–सुरक्षा व्यवस्था मिलाइदिन लिखित अनुरोध गरिएको बताए। प्रहरी परिचालनपछि अवस्था नियन्त्रणमा आएको उनको भनाइ थियो।
अर्का जिल्ला सचिव राजेश रौनियारले सदस्यता नवीकरण नगरेको व्यक्तिलाई नेपाली कांग्रेसको सदस्यका रूपमा स्वीकार गर्न नसकिने बताए। उनले विशेष महाधिवेशनलाई निर्वाचन आयोग र सर्वोच्च अदालतबाट समेत मान्यता प्राप्त भएको उल्लेख गर्दै पार्टीको विधानअनुसार सदस्यता अध्यावधिक नगरेको व्यक्तिलाई आधिकारिक नेतृत्वका रूपमा मान्यता दिन नसकिने धारणा व्यक्त गरे। उनले जिल्ला कार्यसमितिका पदाधिकारीहरू एकजुट रहेको दाबी गर्दै पार्टीको निर्णयविपरीत हुने गतिविधिको प्रतिकार गरिने चेतावनी पनि दिए।
प्रतिनिधिसभा निर्वाचन र विशेष महाधिवेशनपछि चर्किँदै आएको विवाद मंगलबार सार्वजनिक रूपमा झडपमा परिणत भएपछि नेपाली कांग्रेस बाराको आन्तरिक कलह थप गहिरिएको देखिएको छ।



