
सत्येन्द्र प्रताप सिंह
रौतहट , ०६ साउन
रौतहटको मुख्य आवतजावत मार्गका रूपमा रहेको गौर–पिपरा सडकखण्ड अन्तर्गत सरुअठास्थित झाँझपुल लामो समयदेखि मर्मत सम्भारको अभावमा अत्यन्तै जीर्ण बनेको छ। दैनिक सयौँको संख्यामा सर्वसाधारण, सवारीसाधन तथा स्थानीय कृषकहरूले प्रयोग गर्ने यो महत्वपूर्ण पुल हाल गम्भीर दुर्घटनाको पर्खाइमा जस्तै बनेको छ।
पुलको माथिल्लो ढलान ठाउँ-ठाउँमा पूर्ण रूपमा भत्किएर भित्री फलामका छडहरू बाहिर निस्किएका छन्। ढलान फुटेर ठूला-ठूला खाडल बनेका कारण विशेष गरी दुईपाङ्ग्रे मोटरसाइकल, साइकल तथा साना चारपाङ्ग्रे सवारीसाधन चालकहरूका लागि यात्रा निकै कष्टकर र ज्यान जोखिममा पार्ने खालको बनेको छ।
स्थानीयबासीका अनुसार पुलको दयनीय अवस्थाका कारण दैनिकजसो साना-तिना दुर्घटनाहरू भइरहेका छन्। रातको समयमा सडक बत्तीको अभाव र बाहिर निस्किएका छडका कारण सवारीसाधनका टायर पञ्चर हुने, सन्तुलन बिग्रेर पल्टिने जस्ता जोखिम उच्च रहेको छ । जिल्लाको सदरमुकाम गौर जोड्ने यो सडकमा एम्बुलेन्स, यात्रुवाहक बस, ट्रयाक्टर तथा साना कारहरू समेत जोखिम मोलेरै आउजाउ गर्न बाध्य छन्।
पुलको ढलान भत्किएर छडहरू निस्किएको महिनौँ बितिसक्दा पनि सम्बन्धित निकाय मौन छ। के कुनै ठूलो जनधनको क्षति भएपछि मात्रै सरकारको आँखा खुल्ने हो?”
सडक र पुलको निर्माण तथा व्यवस्थापनको जिम्मेवारी लिएका निर्माण व्यवसायी, स्थानीय जनप्रतिनिधि र सडक विभाग जस्ता निकायहरूले समयमै चासो नदेखाएको भन्दै सर्वसाधारणमा तीव्र असन्तोष छाएको छ। सडक स्तरोन्नति र पूर्वाधार विकासका ठूला गफ छाडिए पनि मुख्य राजमार्ग र जोड्ने सडककै यस्तो बिजोग हुनु गैरजिम्मेवारीपनको पराकाष्ठा भएको स्थानीयको भनाइ छ।
स्थानीयबासी तथा सडक प्रयोगकर्ताहरूले कुनै अप्रिय वा ठूलो दुर्घटना हुनुभन्दा अगावै उक्त झाँझपुलको तत्काल प्राविधिक निरीक्षण गरी मर्मतसम्भार गर्न र सडकको उचित व्यवस्थापन मिलाउन सम्बन्धित सबै पक्षसँग जोडदार माग गरेका छन्।



