मधेशसमाचार

नहरमा १० वर्षीय बालक मृत अवस्थामा फेला हत्या वा दुर्घटना भन्नेबारे प्रहरी अनुसन्धान तीव्र

​सत्येन्द्र प्रताप सिंह

रौतहट, १२ साउन

जिल्लाको मध्यभागमा अवस्थित गरुडा नगरपालिकाबाट हराइरहेका १० वर्षीय बालक छिमेकी पालिका माधवनारायणस्थित नहरको कलभर्ट मुनि मृत अवस्थामा फेला परेका छन्।
मृतक ​गरुडा नगरपालिका वडा नम्बर १ बस्ने शेख मंजरका १० वर्षीय छोरा शेख रिजवान आइतबार साउन ११ गते दिउँसो मृत अवस्थामा फेला परेका हुन्।
​प्रहरीका अनुसार बालक रिजवान साउन १० गते शनिबार बेलुकी करिब ६:०० बजेको समयमा कसैलाई केही नभनी घरबाट निस्किएका थिए। अबोध बालक अबेरसम्म पनि घर नफर्किएपछि आफन्त तथा छरछिमेकले सम्भावित सबै स्थानमा खोजी गर्दा पनि कुनै पत्तो पाउन सकेका थिएनन्।
​बालक फेला नपरेपछि चिन्तित बनेका बुवा शेख मंजरले साउन ११ गते आइतबार दिउँसो २ बजे इलाका प्रहरी कार्यालय शिवनगरमा बालकको हुलियासहित खोजतलासका लागि लिखित निवेदन दिएका थिए।
​निवेदन परेको आधा घण्टा नबित्दै दिउँसो साढे २ बजेको समयमा माधवनारायण नगरपालिका वडा नम्बर ३ सखुवास्थित नहरको कलभर्ट मुनि पानीमा घोप्टो परेको अवस्थामा बालकको शव तैरिरहेको स्थानीयले देखिएका थिए। स्थानीयले तत्कालै प्रहरीलाई खबर गरेपछि घटनास्थलमा सन्नाटा छाएको थियो।
​घटनाको गम्भीरतालाई ध्यानमा राख्दै इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरीक्षक शंकर प्रसाद आचार्यको कमाण्डमा जुनियर अधिकृत प्राविधिक टोली तथा अपराध दृश्य अनुसन्धानको टोली स्थलगत अनुसन्धानका लागि खटिएको थियो।
​अनुसन्धान टोलीले घटनास्थलको सुक्ष्म निरीक्षण गरी अपराह्न ३:४५ बजे मुचुल्कासहितका सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेको प्रहरीले जनाए । शवको वस्तुस्थितिको वस्तुपरक अध्ययन र पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाइएको छ।
​बालकको मृत्यु पछाडिको वास्तविक कारण के हो—दुर्घटना वा कुनै आपराधिक घटना भन्नेबारे पोष्टमार्टम रिपोर्ट आएपछि मात्र स्पष्ट हुने प्रहरीले बताए । घटनाबारे विभिन्न कोणबाट अनुसन्धान प्रक्रिया तीव्र पारिएको इलाका प्रहरी कार्यालय गरुडाले जनाए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button