
बारा, ०२ असोज
बाराको सिम्रौनगढ नगरपालिकामा नगरपालिका अन्तर्गतका सम्पूर्ण कर्मचारी तथा जनप्रतिनिधिका लागि अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको छ।
सिम्रौनगढ नगरपालिकाका नगरप्रमुख किशोरी प्रसाद कलवारको अध्यक्षता तथा प्रमुख प्रशासकीय अधिकृत नवराज अधिकारीको समन्वयमा कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा नगरपालिका अन्तर्गत कार्यरत कर्मचारी तथा जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा जिल्ला न्यायाधिवक्ता तथा जिल्ला सरकारी वकिल कार्यालय बाराका जिल्ला न्यायाधिवक्ता शम्भु कुमार बस्नेतले ‘सरकारी वकिलको परिचय, सरकारवादी मुद्दाहरू र समुदायबाट गरिएको अपेक्षा’ विषयमा प्रस्तुतीकरण गरेका थिए।
अन्तरक्रियाका क्रममा सरकारी वकिलको भूमिका, सरकारवादी मुद्दाको प्रकृति तथा कानुनी प्रक्रियाका विषयमा सहभागीलाई जानकारी गराइएको थियो। साथै स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीबाट सरकारी वकिल र न्यायिक प्रक्रियासँग सम्बन्धित क्षेत्रमा गरिएका अपेक्षाबारे समेत छलफल गरिएको थियो।
कार्यक्रमले स्थानीय तहका कर्मचारी तथा जनप्रतिनिधिलाई सरकारवादी मुद्दा, कानुनी प्रक्रिया र सरकारी वकिलको भूमिकाबारे जानकारी लिन तथा आवश्यक समन्वयका विषयमा अन्तरक्रिया गर्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ।



