रौतहट , ०९ कार्तिक
रौतहटको सदरमुकाम गौरस्थित दुर्गा मन्दिर गौर घण्टाघर नजिकै लामो समयदेखि अलपत्र अवस्थामा रहेको टावर लाइट अन्ततः सञ्चालनमा आएको छ । गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहको विशेष पहलमा आइतबार उक्त टावर लाइट पुनः सञ्चालनमा ल्याइएको हो ।
“शम्भु भए सम्भव छ” भन्ने उखानलाई चरितार्थ गर्दै नगर प्रमुख साहले जनसरोकारको यस महत्त्वपूर्ण विषयलाई सम्बोधन गरेका छन्। विशेषगरी छठ पर्वको बेला व्रतालु तथा सर्वसाधारणको आवतजावतमा सहजता होस् र उज्यालोले गर्दा सुरक्षा कायम होस् भन्ने उद्देश्यले उनले यो पहलकदमी लिएका हुन् ।
केही दिनदेखि बिग्रिएर अलपत्र परेको टावर लाइटको मर्मत तथा सञ्चालनपश्चात् यस क्षेत्रमा हिँड्ने हजारौँ सर्वसाधारण, विशेष गरी छठका व्रतालुहरूले ठूलो राहत महसुस गरेका छन् । लामो समयदेखि अँध्यारोका कारण यो क्षेत्रमा हिँड्न असहज र जोखिमपूर्ण हुँदै आएको थियो ।
नगर प्रमुख साहले यस कार्यमार्फत जनताप्रति आफ्नो उत्तरदायित्व र समर्पण प्रदर्शन गरेका छन् । उनले चाडपर्वको संवेदनशीलतालाई ध्यान दिँदै समयमै टावर लाइट सञ्चालनमा ल्याएर व्रतालु तथा स्थानीय जनताको आर्शीवाद पाएका हुन् ।
जनताका लागि मेयरको सक्रियता
गौर नगरपालिका क्षेत्रमा विकास निर्माणका कार्यलाई तीव्रता दिँदै आएका नगर प्रमुख शम्भु साहले साना तर महत्त्वपूर्ण जनसरोकारका विषयमा पनि उत्तिकै ध्यान दिएको यो घटनाले पुष्टि गर्दछ । टावर लाइटजस्तो महत्त्वपूर्ण पूर्वाधार लामो समयसम्म अलपत्र रहनुले स्थानीय प्रशासनको विगतको सुस्तता झल्काउँथ्यो । तर, मेयर साहले आफ्नो सक्रियतामा यसलाई सञ्चालनमा ल्याएर नगरपालिकाले जनमैत्री सेवा प्रवाहमा जोड दिएको सन्देश दिएका छन् ।
नगर प्रमुखको यो पहलबाट स्थानीयवासीले अब रातको समयमा पनि निर्धक्क भएर आवतजावत गर्न सक्ने भएका छन् । विशेष गरी चाडपर्वको बेला हुने चहलपहलमा उज्यालोले सुरक्षा र सहजता थपेको हो ।
यस अवसरमा स्थानीय नागरिक समाजका प्रतिनिधिहरूले पनि नगर प्रमुख साहको सक्रियताको प्रशंसा गर्दै यस्तै जनमुखी कार्यहरूलाई निरन्तरता दिन आग्रह गरेका छन् ।