
धनुषा , ०२
धनुषाको मिथिला नगरपालिका–ढल्केवरमा नव निर्मित ‘लियो होटल’ औपचारिक रूपमा सञ्चालनमा आएको छ। होटल उद्घाटन समारोहमा मधेस प्रदेशका पूर्वमुख्यमन्त्री, मन्त्री, प्रदेशसभा सदस्य, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, उद्योगी–व्यवसायी, स्थानीय अगुवा, बुद्धिजीवी, युवा तथा सञ्चारकर्मीको उल्लेख्य सहभागिता रहेको थियो।
होटल सञ्चालक तथा मधेस प्रदेशसभा सदस्य हरिनारायण महतोको अध्यक्षतामा आयोजित उद्घाटन समारोहका प्रमुख अतिथि मधेस प्रदेशका पूर्वमुख्यमन्त्री सरोज यादव रहेका थिए। कार्यक्रममा मधेस प्रदेशका कार्यवाहक मुख्यमन्त्री तथा भौतिक पूर्वाधार विकासमन्त्री महमद समीर विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए।
समारोहमा शिक्षा, यातायात, ऊर्जा लगायतका मन्त्री, विभिन्न राजनीतिक दलका नेता तथा जनप्रतिनिधि, स्थानीय अगुवा, बुद्धिजीवी, व्यवसायी र सञ्चारकर्मीको सहभागिता रहेको थियो।
उद्घाटनका क्रममा प्रमुख अतिथि यादवले होटलको पहिलो तलामा रिबन काटेर औपचारिक उद्घाटन गरेका थिए भने दोस्रो तलाको उद्घाटन रिमोटमार्फत गरिएको थियो। उद्घाटनपछि यादवले होटलको भौतिक संरचना तथा उपलब्ध सेवाबारे जानकारी लिँदै व्यवसायिक सफलताको शुभकामना व्यक्त गरे।
कार्यक्रममा बोल्दै कार्यवाहक मुख्यमन्त्री तथा भौतिक पूर्वाधार विकासमन्त्री समीरले ढल्केवरमा नयाँ होटल सञ्चालनमा आएसँगै स्थानीयस्तरमा आतिथ्य सेवाको विस्तार हुनुका साथै पर्यटन, व्यापार तथा व्यवसायिक गतिविधिमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे।
होटल सञ्चालक सांसद महतोले स्थानीय आवश्यकता र ग्राहकको सुविधालाई प्राथमिकतामा राखेर होटल सञ्चालनमा ल्याइएको बताए। उनले ग्राहकलाई गुणस्तरीय तथा सहज सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।
पूर्व–पश्चिम राजमार्गसँग जोडिएको ढल्केवर मधेस प्रदेशको महत्वपूर्ण व्यापारिक तथा यातायात केन्द्रका रूपमा विकास हुँदै गएको अवस्थामा नयाँ होटल सञ्चालनमा आउनुलाई स्थानीय व्यवसायिक क्षेत्रका लागि समेत महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।



