
बारा, ०० असोज
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बारामा हुने वडा अधिवेशनको मिति र प्रक्रियालाई लिएर पार्टीभित्र विवाद देखिएको छ। जिल्लाको एक पक्षले १६७ वटै वडामा अधिवेशनका लागि तयारी तीव्र पारेको जनाएको छ भने जिल्ला सभापति राजेश राय यादव पक्षले आज र भोलि हुने भनिएको वडा अधिवेशनमा सहभागी नहुन नेता तथा कार्यकर्तालाई सार्वजनिक अपिल गरेको छ।
१५औँ महाधिवेशनलाई व्यवस्थित र सफल बनाउन नेपाली कांग्रेस बारा जिल्ला कार्यसमितिको विस्तारित बैठक शुक्रबार कलैयास्थित करणराज होटलमा सम्पन्न भएको छ। वडा अधिवेशन सुरु हुनुभन्दा एक दिनअघि बसेको बैठकमा महाधिवेशनको तयारी, संगठन सुदृढीकरण, वडा तथा स्थानीय तहका अधिवेशन र कार्यकर्ताको सहभागिताका विषयमा छलफल गरिएको थियो।
बैठकमा सहभागी नेताहरूले वडा तहदेखि नै संगठनलाई सक्रिय बनाउँदै अधिवेशनलाई व्यवस्थित, प्रभावकारी र उत्साहपूर्ण बनाउनुपर्नेमा जोड दिएका थिए। स्थानीय तहका अधिवेशनको तयारी, संगठन विस्तार तथा पार्टीका गतिविधिलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको थियो।
बैठकमा केन्द्रीय प्रतिनिधिका रूपमा आएका मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सापकोटाले निर्वाचन प्रक्रिया, आचारसंहिता तथा निर्देशिकामा उल्लेख गरिएका नियमबारे नेता तथा कार्यकर्तालाई जानकारी गराएका थिए। उनले अधिवेशनका क्रममा पालना गर्नुपर्ने निर्वाचनसम्बन्धी प्रक्रिया र आचारसंहिताबारे स्पष्ट पारेका थिए।
बैठकले अधिवेशन केन्द्रित गतिविधिलाई थप तीव्रता दिने निष्कर्ष निकालेको बताइएको छ। वडा तहबाटै नेता तथा कार्यकर्ताबीच समन्वय र सहकार्य गर्दै महाधिवेशनलाई सफल बनाउनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।
जिल्ला सभापति मनोज भट्टको अध्यक्षता तथा केन्द्रीय सहमहामन्त्री फरमुल्लाह मन्सुरको प्रमुख आतिथ्यमा सम्पन्न बैठकमा केन्द्रीय सदस्यहरू मधु शाही ठकुरी, रामानन्द यादव, शम्भु बुढाथोकी र ममता शर्मा, संविधानसभा सदस्य डा. शोभाकर पराजुली र लालबाबु सिंह, प्रदेश कार्यवाहक सभापति चन्द्रशेखर यादव, जिल्ला उपसभापति अमिरी पाल, सचिव भैयाराम यादवलगायतको सहभागिता थियो।
त्यस्तै क्षेत्र नम्बर १ का सभापति विजयशंकर यादव, क्षेत्र नम्बर ३ का सभापति प्रभात चौरसिया, महागढीमाई नगरपालिकाका मेयर उपेन्द्रप्रसाद यादवसहित जिल्लाका अधिकांश नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो। विस्तारित बैठकको सञ्चालन पार्टी सचिव राजेश रौनियारले गरेका थिए भने जिल्ला सदस्य एवं कांग्रेस नेतृ प्रियंका दासले स्वागत गरेकी थिइन्।
सभापति यादवको आज र भोलि हुने अधिवेशनमा नजान अपिल
यसैबीच नेपाली कांग्रेस बारा सभापति राजेश राय यादवले पार्टीको आधिकारिक निर्णयअनुसार हुने वडा अधिवेशनमा मात्र सहभागी हुन नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।
शुक्रबार कलैयास्थित नेपाली कांग्रेस पार्टी कार्यालयको सभाहलमा पत्रकार सम्मेलन गर्दै यादवले १४औँ महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय समितिले तय गरेको असोज १५ गतेको वडा अधिवेशनमा सहभागी हुन आग्रह गरेका हुन्।
यादवले आज र भोलि गर्न लागिएको भनिएको अधिवेशनलाई ‘कथित वडा अधिवेशन’ भन्दै त्यसमा सहभागी नहुन कार्यकर्तालाई आग्रह गरेका छन्। उनका अनुसार वडा अधिवेशनअघि क्रियाशील सदस्यहरूको नवीकरण तथा नयाँ सदस्यताको विवरण अन्तिम रूप दिइनेछ। त्यसपछि रिक्त पार्टी पदहरू आवश्यक प्रक्रिया पूरा गरी मनोनयनमार्फत पदपूर्ति गर्ने तयारी रहेको उनले बताएका छन्।
क्रियाशील सदस्यताको विवरण टुंगो लगाएपछि मात्र अधिवेशन प्रक्रिया अघि बढाउनुपर्ने यादवको भनाइ छ।
उनले जारी गरेको अपिलमा भनिएको छ, “१४औँ महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसको केन्द्रीय समितिले तय गरेको असोज १५ गतेको वडा अधिवेशनमा सहभागी हुन सम्पूर्ण नेता कार्यकर्तालाई हार्दिक अनुरोध गर्दछु।”
यादवले आज र भोलि हुने भनिएको वडा अधिवेशनमा सहभागी नहुनसमेत पुनः आग्रह गरेका छन्।
सभापति यादवको उक्त अपिलसँगै कांग्रेस बारा भित्र वडा अधिवेशनको मिति, क्रियाशील सदस्यता र निर्वाचन प्रक्रियालाई लिएर रहेको विवाद सार्वजनिक रूपमा सतहमा आएको छ। एक पक्ष अधिवेशनको तयारीमा जुटिरहेका बेला अर्को पक्षले त्यसलाई आधिकारिक प्रक्रिया नभएको दाबी गर्दै बहिष्कारको आह्वान गरेपछि वडा अधिवेशन कसरी अघि बढ्छ भन्ने विषय चासोको बनेको छ।
पत्रकार सम्मेलनमा क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रामप्रवेश यादव, क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति सुनिल गुप्ता, पूर्वराज्यमन्त्री कलावती पासवान, पार्टी प्रवक्ता चन्द्रिका गुप्ता, प्रदेश समिति सदस्य अतिउर रहमान, पूर्वउपसभापति हरेन्द्र यादवलगायत नेता तथा सदस्यहरूको उपस्थिति थियो।



