मधेशसमाचार

सबैठवामा सशस्त्र प्रहरीको कारबाही, १० लाखको कपडा र १०० किलो कुखुरा बरामद

राजन कुमार बानिया
पर्सा, ०३ असोज
पर्साको पकाहाँमैनपुर गाउँपालिका–५ सबैठवामा सशस्त्र प्रहरीले अवैध ओसारपसारविरुद्ध कारबाही तीव्र बनाउँदै ठूलो परिमाणमा कपडा तथा प्रतिबन्धित भारतीय ब्रोइलर कुखुरा बरामद गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म लहावरथरीबाट डीएसपी प्रदीप बस्नेतको कमाण्डमा परिचालित टोलीले विशेष सूचनाका आधारमा गरेको कारबाहीका क्रममा १० लाख ५८ हजार ५४० रुपैयाँ बराबरको विभिन्न किसिमका कपडा बरामद गरेको हो। गोठमा गाईभैंसीको भुसा राख्ने स्थानमा लुकाइछिपाइ राखिएको अवस्थामा कपडा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।
बेवारिसे अवस्थामा फेला परेको कपडाको प्रारम्भिक मूल्यांकन १० लाख ५८ हजार ५४० रुपैयाँ गरिएको थियो। बरामद कपडा आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय, पर्सामा बुझाइएको सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक प्रकाशचन्द्र भट्टले जानकारी दिए।
यसैगरी, सोही क्षेत्रबाट सशस्त्र प्रहरीले नेपालमा प्रतिबन्धित १०० किलो भारतीय ब्रोइलर कुखुरा समेत बरामद गरेको छ। डीएसपी बस्नेतको कमाण्डमा खटिएको टोलीले विशेष सूचनाका आधारमा गरेको गस्तीका क्रममा गाउँ नजिकैबाट उक्त कुखुरा नियन्त्रणमा लिएको हो।
बरामद कुखुरा स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी तथा सञ्चारकर्मीको रोहबरमा खाल्डो खनी नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरीका अनुसार खुला सीमाको फाइदा उठाउँदै अवैध रूपमा नेपाल भित्र्याइने कपडा, पशुपन्छी तथा अन्य सामग्रीको ओसारपसार नियन्त्रण गर्न सीमा क्षेत्रमा निगरानी र नियमित गस्तीलाई थप प्रभावकारी बनाइएको छ। विशेष सूचनाका आधारमा समेत सम्भावित तस्करी नाकामा निगरानी बढाइएको डीएसपी बस्नेतले बताएका छन्।
पछिल्लो समय सीमावर्ती क्षेत्रमा अवैध रूपमा सामान भित्र्याउने तथा पशुपन्छी ओसारपसार गर्ने गतिविधि नियन्त्रणलाई प्राथमिकतामा राखेर सशस्त्र प्रहरीले गस्ती र चेकजाँचलाई कडाइ गरेको जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button