मधेशसमाचार

रौतहटको गरुडामा तीन घरमा चोरी, अनुसन्धानका क्रममा खाटमुनि लोडेड कटुवा पेस्तोल बरामद

सत्येन्द्र प्रताप सिंह
रौतहट , ०३ असोज
​जिल्लाको मध्यभागमा अवस्थित गरुडा नगरपालिका–७ भिमडावरमा एकै रात तीन वटा घरमा चोरी भएको छ। घटनाको अनुसन्धानका क्रममा प्रहरीले एक थान लोडेड कटुवा पेस्तोल बरामद गरेको छ।
​शुक्रबार बिहान करिब ९:३० बजेको समयमा गरुडा नगरपालिका–७ भिमडावर निवासी दयाराम साहको एकतल्ले पक्की घरको पछाडिको ढोकाको आग्लो भाँचेर अज्ञात समूह घरभित्र प्रवेश गरेको थियो। चोरहरूले घरमा रहेका रेडमी, ओपो र रियलमी कम्पनीका गरी तीन थान मोबाइल चोरी गरेका थिए।
​त्यसैगरी सोही स्थानका मनोज साहको एकतल्ले पक्की घरको छतको ढोकाबाट प्रवेश गरी कोठाको आग्लो निकालेर दराजमा राखिएको पर्सबाट नगद करिब ५ हजार रुपैयाँ चोरी भएको छ।
​साथै सोही बस्तीका रामाज्ञा साहको एकतल्ले पक्की घरको माथिल्लो ढोकाबाट घरभित्र छिरेका चोरहरूले कोठामा रहेको टिनको बाकसभित्रको पर्सबाट ८ हजार रुपैयाँ नगद र एक थान भिभो मोबाइल चोरी गरी फरार भएका थिए।
​एउटै गाउँका तीन घरमा श्रृंखलाबद्ध चोरी भएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो।
​घटनास्थलको अनुसन्धान तथा खानतलासी गर्ने क्रममा प्रहरीले दयाराम साहको खपडाको छानो भएको भुईघरको बरण्डामा रहेको खाटमा १ थान लाइभ राउण्ड (गोली लोड गरिएको) कटुवा पेस्तोल फेला पारेको छ।
​उक्त हतियार बरामद गरी प्रहरीले कब्जामा लिएको छ। चोरीमा संलग्न गिरोहको खोजी कार्य तीव्रताका साथ अघि बढाउनुका साथै बरामद हतियारबारे थप सूक्ष्म अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button