
बारा , ०३ असोज
बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा एकै अवधिमा दुई छुट्टाछुट्टै बालिका यौन हिंसाको घटनामा परेको आरोपमा एक किशोर र एक वृद्ध पक्राउ परेका छन्। दुवै घटना पाँच वर्षीया बालिकासँग सम्बन्धित रहेको प्रहरीले जनाएको छ।
जीतपुरसिमरा–१ पथलैयामा पाँच वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा १४ वर्षीय किशोरलाई प्रहरीले शुक्रबार बिहान पक्राउ गरेको हो। बालिकाका अभिभावकबाट घटनाबारे सूचना पाएपछि प्रहरी चौकी पथलैयाबाट खटिएको टोलीले किशोरलाई उनको घरबाट नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ परेका किशोरलाई इलाका प्रहरी कार्यालय सिमराको हिरासतमा राखिएको छ। प्रहरीका अनुसार प्रारम्भिक सोधपुछका क्रममा किशोरले घटनामा संलग्नता स्वीकार गरेका छन्। बालिका र किशोर दुवैको स्वास्थ्य परीक्षण तथा आवश्यक सेवाका लागि प्रादेशिक अस्पताल कलैयास्थित ओसीएमसीमा पठाइएको छ।
यसअघि जीतपुरसिमरा–१९ इनर्वासिरामा पाँच वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा ७५ वर्षीय हसन जान मियाँ पक्राउ परेका थिए। बिहीबार राति पक्राउ परेका मियाँमाथि ताडको फल लिन पुगेकी बालिकालाई घरभित्र लगेर करणी गरेको आरोप लागेको छ।
घटनाको जानकारी पाएपछि अस्थायी प्रहरी पोस्ट इनर्वासिराको टोलीले मियाँलाई नियन्त्रणमा लिएको थियो। पक्राउपछि आक्रोशित स्थानीयले आरोपीलाई आफूहरूको जिम्मा लगाउन माग गर्दै प्रहरी पोस्ट घेराउ गरेपछि अवस्था तनावपूर्ण बनेको थियो।
प्रहरीका अनुसार त्यसक्रममा स्थानीयबाट ढुंगामुढा हुँदा प्रसौनीमा कार्यरत प्रहरी वरिष्ठ नायब निरीक्षक विनोद रानामगर सामान्य घाइते भएका छन्। प्रहरीको गाडीमा समेत क्षति पुगेको जनाइएको छ।
स्थिति नियन्त्रणमा लिन सिमरा, जीतपुर, प्रसौनी र कलैयाबाट थप प्रहरी परिचालन गरिएको थियो। त्यसपछि मियाँलाई इलाका प्रहरी कार्यालय सिमरा लगिएको प्रहरीले जनाएको छ।
बालिकाको बयानका आधारमा उनका अभिभावकले मियाँविरुद्ध किटानी जाहेरी दिएका छन्। मियाँले भने प्रारम्भिक सोधपुछका क्रममा आरोप अस्वीकार गरेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टका अनुसार दुवै घटनामा पीडित बालिका र आरोपितको स्वास्थ्य परीक्षण गरिएको छ। परीक्षणको रिपोर्ट आउन बाँकी रहेको र घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।दुवै घटनामा पीडित बालिकाको पहिचान गोप्य राखिएको प्रहरीले जनाएको छ।



