मधेशसमाचार

मधेशका मुख्यमन्त्री सोनलले प्रदेश प्रमुखलाई बुझाए राजीनामा

बारा, २२ कार्तिक 

विश्वासको मत नपाउने निश्चित भएपछि मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनलले पदबाट राजीनामा दिएका छन्।

शनिबार साँझ उनले प्रदेश प्रमुख सुमित्रा भण्डारी सुवेदीलाई राजीनामा पत्र बुझाएका हुन्। मुख्यमन्त्री सोनल शनिबार दिउँसो बसेको प्रदेशसभा बैठकमा नै राजीनामा घोषणा गरेका थिए।

उनी शनिबारकै बैठकमा विश्वासको मत लिने कार्यसूचीमा थिए। तर, आवश्यक मत नपाउने प्रष्ट भएपछि उनले पदबाट राजीनामा दिने घोषणा गरेका हुन्।

मधेश प्रदेश सभामा कुल १०७ जना सदस्य छन्। सरकार गठनका लागि कम्तीमा ५४ मतको बहुमत आवश्यक छ। तर, जनमत पार्टीका दुई सांसद — सतिशकुमार सिंह र त्रिभुवन शाह — बैठकमा अनुपस्थित रहे।

प्रदेश सभामा सत्तारूढ गठबन्धनमा लोसपाका ८, जसपा नेपालका १८, जनमत पार्टीका १३, माओवादी केन्द्रका ९ र एकीकृत समाजवादीका ७ सांसद छन्।

तर, संघीय समाजवादी पार्टीकी सांसद बिमला अन्सारी अनुपस्थित रहिन् भने माओवादी केन्द्रका सांसद रहबर अन्सारी र माला राईले सदनमै विद्रोह गरे।

राजनीतिक गणित अनुसार सोनलको पक्षमा बहुमत नजुट्ने निश्चित भएपछि उनले राजीनामा दिँदै मुख्यमन्त्री पदबाट विदा लिएका हुन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button