बालविवाह विरुद्ध तीनदिने जनचेतनामूलक कार्यक्रम सम्पन्न 

11

बारा, १० पौष

दक्षिण झिटकैया, गम्हरिया र कल्याणपुर यी टोलहरूमा वर्षौंदेखि मौन रूपमा जरा गाडेर बसेको सामाजिक समस्या हो, बालविवाह, परम्परा, गरिबी, अशिक्षा र सामाजिक दबाबका कारण धेरै बालिकाहरू समय भन्दा अघि विवाहको बन्धनमा बाँधिँदै आएका छन् । यही मौनता तोड्न देवताल गाउँपालिका वडा नम्बर २ मा तीनदिने जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ ।

चालू आर्थिक वर्ष २०८२/०८३ को वडा स्तरीय योजना अन्तर्गत मुस्लिम युवा समाज, सुवर्ण गाउँपालिका–बाराको आयोजनामा पुस ७ गते देखि ०९ गतेसम्म तीन दिन ६ चरणमा बालविवाह विरुद्धको जनचेतना अभियान सञ्चालन गरिएको मुस्लिम युवा समाज सुवर्ण गाउँपालिका बाराका अध्यक्ष शेख महताब आलमले बताए ।

कार्यक्रम देवताल गाउँपालिका वडा नम्बर २ अन्तर्गतका दक्षिण झिटकैया, गम्हरिया र कल्याणपुर टोलमा पुगेर समुदाय स्तरमै संवाद, छलफल र प्रशिक्षणका माध्यमबाट अघि बढाइएको उनले जानकारी दिए ।

कार्यक्रममा ३०० भन्दा बढी स्थानीयको सहभागिता रह्यो । विशेष गरी शिक्षा बाट बञ्चित महिलाहरू, किशोरी तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति देखिनु स्वयंमा आशाको संकेत थियो । सहभागीहरू बालविवाहका कानुनी प्रावधान, यसका दीर्घकालीन सामाजिक, स्वास्थ्य तथा मानसिक असरबारे जानकार भएको उनले दावी गरे ।

प्रमुख अतिथि जिल्ला समन्वय समिति बाराका सदस्य चन्देश्वर प्रसाद यादवले बालविवाह केवल कानुनी अपराध मात्र नभई समाजको भविष्य अन्धकारतर्फ धकेल्ने कुप्रथा भएको उल्लेख गर्दै यसको अन्त्यका लागि समुदाय स्वयं अग्रसर हुनुपर्नेमा जोड दिए ।

प्रशिक्षण सत्रमा गोपाल प्रसाद यादव, अनिल कुशवाहा, सहायक प्रशिक्षक अखिलेश कुमार यादव, डा. हफिज मियाँ, बिक्की महतो र शेख महताब आलम लगायतले व्यवहारिक उदाहरणसहित प्रशिक्षण दिएका थिए। उनीहरूले बालविवाहले बालिकाको शिक्षा, स्वास्थ्य र आत्मनिर्भरतामा पार्ने गहिरो असरबारे स्पष्ट पारे।

तीन दिनसम्म चलेको यो अभियानले सहभागीहरूमा सोच परिवर्तनको बीउ रोपेको देखिन्थ्यो। “अब हामी आफैं बालविवाह रोक्न आवाज उठाउँछौं,” भन्ने प्रतिबद्धता धेरै सहभागीको मुखबाट सुनिनु कार्यक्रमको ठोस उपलब्धि मानिएको छ।

देवताल–२ मा सुरु भएको यो जागरण केवल कार्यक्रममै सीमित नभई व्यवहारमा रूपान्तरण हुन सकेमा, बालविवाह विरुद्धको संघर्षमा यो उदाहरणीय पहल बन्ने अपेक्षा गरिएको छ ।

कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष मनरुदीन मियाँ ठकुराईले गरेका थिए । कार्यक्रममा सामाजिक विकास शाखा प्रमुख ललन पटेल, प्रशासन शाखा प्रमुख सुधिर कुमार यादव, वडा सचिव पुरुषोत्तम चौरसिया, बीओपी देवापुर क्याम्पका इन्चार्ज सबिन खड्का, प्रहरी चौकी देवापुरका हवलदार राघो यादव, जसपा नेपाल जिल्ला सदस्य नवल किशोर यादव, वडा सदस्य सुरेन्द्र कुशवाहा, महिला वडा सदस्य जैबुन खातुन, प्रमिला देवी लगायतको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.