मधेशसमाचार

बरियारपुर–गञ्जभुवानीपुर हुँदै नयाँ बस्ती जोड्ने सडक कालोपत्रे कार्यको शिलान्यास

बारा , ०३ माघ
 बरियारपुर–गञ्जभुवानीपुर हुँदै कोल्हवी नगरपालिका–८ स्थित नयाँ बस्ती जोड्ने करिब ५ किलोमिटर सडक कालोपत्रे कार्यको शिलान्यास गरिएको छ। बारा क्षेत्र नम्बर २ (क) का प्रदेश सभा सदस्य शारदा शंकर कलवारले शुक्रबार एक कार्यक्रमबीच बौद्धिक मन्त्रद्वारा पूजा–पाठ गर्दै सडक कालोपत्रे कार्यको औपचारिक शिलान्यास गर्नुभएको हो।
लामो समयदेखि कच्ची अवस्थामै रहेको यस सडक कालोपत्रे हुन थालेपछि स्थानीयवासी खुसी भएका छन्। वर्षायाममा हिलो र हिउँदमा धुलोका कारण दैनिक आवतजावतमा समस्या झेल्दै आएका बासिन्दाका लागि यो सडक महत्वपूर्ण मानिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य कलवारले विकास निर्माणका कामलाई प्राथमिकतामा राख्दै जनताको आधारभूत आवश्यकतालाई पूरा गर्ने आफ्नो प्रतिबद्धता दोहोर्‍याउनु भयो। उहाँले सडक पूर्वाधारले शिक्षा, स्वास्थ्य, कृषि तथा व्यापारिक गतिविधिलाई सहज बनाउने भन्दै समयमै गुणस्तरीय रूपमा काम सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो।
स्थानीय जनप्रतिनिधि तथा बासिन्दाहरूले सडक निर्माणपछि कोल्हवी नगरपालिका–८ लगायत आसपासका गाउँहरूको पहुँच सहज हुने, बजारसँगको सम्पर्क मजबुत हुने र आर्थिक गतिविधि बढ्ने विश्वास व्यक्त गरेका छन्। विशेषगरी कृषि उपज ढुवानी, विद्यार्थीको आवतजावत र आपतकालीन सेवामा ठूलो सहयोग पुग्ने उनीहरूको भनाइ छ।
शिलान्यास कार्यक्रममा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका नेता, समाजसेवी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो। सडक कालोपत्रे कार्य तोकिएको समयसीमा भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको निर्माण पक्षले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button