सशस्त्र प्रहरी–पत्रकार सहकार्यको सम्मानजनक उदाहरण

8

कलैया , १९ माघ

सुरक्षा निकाय र सञ्चारजगतबीचको विश्वास र सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यका साथ सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गणले चार जना पत्रकारलाई सम्मान गरेको छ।

कलैया उपमहानगरपालिका–१६ उत्तर झिट्कैया स्थित नम्बर १२ गणको परिसरमा आयोजित गणपति सशस्त्र प्रहरी उपरीक्षक खुम बहादुर केसीको बिदाइ समारोहबीच पत्रकारहरूलाई सम्मान गरिएको हो। सम्मानित हुनेमा साझेदारी राष्ट्रिय दैनिकका संवाददाता सन्दीप प्रसाद यादव, नियमित खबरकी सुष्मिता यादव, न्युज खोज तलाश डट कमका भरत सर्राफ र जन सूचना न्युजका रसिद आलम रहेका छन्।

सुरक्षा, सीमा निगरानी, विपद् व्यवस्थापन, अपराध नियन्त्रण र जनसरोकारका विषयमा तथ्यपरक, निष्पक्ष र सकारात्मक समाचार सम्प्रेषण गर्दै सशस्त्र प्रहरी र सर्वसाधारणबीच आपसी विश्वास निर्माणमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै उनीहरूलाई प्रशंसा पत्र प्रदान गरिएको हो।

गणपति सशस्त्र प्रहरी उपरीक्षक खुम बहादुर केसीले प्रशंसा पत्र हस्तान्तरण गर्दै भने, “पत्रकारिताको पेशागत मर्यादा र सत्यनिष्ठाका साथ प्रस्तुत गरिएका सूचनाले सुरक्षा निकायप्रतिको जनविश्वास बलियो बनेको छ।” साथै, उनले सम्मानित पत्रकारहरूको आगामी पेशागत यात्रा अझ सफल र प्रभावकारी हुने शुभकामना व्यक्त गरे।

यसै अवसरमा मुन्ना डिजिटल भिडियोग्राफी, कलैयाका मुन्ना साहलाई पनि सम्मान गरिएको थियो।

कार्यक्रममा नयाँ गणपति सशस्त्र प्रहरी उपरीक्षक विशाल सिलवाल, सूचना अधिकारी एवं सशस्त्र प्रहरी नायब उपरीक्षक विक्रममणि अधिकारी, मटिअर्वाका डीएसपी धन बहादुर राना, निरीक्षक इन्द्रजंग थापा, उमेशकुमार आलेलगायत सशस्त्र प्रहरीका विभिन्न तहका अधिकारी तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन सशस्त्र प्रहरी सहायक निरीक्षक विक्रम पौडेलले गरेका थिए।

Leave A Reply

Your email address will not be published.