
रूपेश यादव
रौतहट, ०६ जेठ
फतुवा विजयपुर नगरपालिका अन्तर्गत वडा नम्बर–४ स्थित टेंग्राहा गाउँमा गएराति एकै रात तीन घरमा चोरी भएको घटना सार्वजनिक भएको छ। स्थानीयका अनुसार चोरीका घटनाले गाउँमा त्रास फैलिएको छ भने सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ।
टेंग्राहा गाउँको ठूलो बालुवा टोलस्थित स्थानीय राजेन्द्र राय यादव को घरमा सुरुङ बनाएर चोरी गरिएको परिवारजनले बताएका छन्। घरबाट सुनचाँदीका गरगहना, नगद तथा अन्य बहुमूल्य सामान गरी करिब १० लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको जनाइएको छ।
त्यसैगरी सोही टोलका स्थानीय नन्द राय यादवको घरमा पनि सुरुङ बनाउने प्रयास गरिएको थियो। तर, घरधनी नसुतेको कारण चोरहरू चोरी गर्न सफल नभएको स्थानीयवासीले बताएका छन्।
यस्तै, गाउँकै सानो बालुवा टोलमा बसोबास गर्दै आएका जामुन ठाकुर हजाम को घरमा पनि चोरी भएको छ। घर निर्माणका लागि राखिएको नगद रकम, सुनचाँदीका गरगहना तथा अन्य सामग्री चोरी भएको परिवारजनले बताएका छन्। उक्त घरबाट पनि करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
घटनापछि स्थानीयवासी ठूलो संख्यामा भेला भएका थिए। पीडित परिवारले रातको समयमा सुरक्षाको अभावका कारण चोरीका घटना बढ्दै गएको गुनासो गरेका छन्।
प्रहरीले घटनामा संलग्न भएको आशंकामा चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जनाएको छ। इलाका प्रहरी कार्यालयका अनुसार घटनास्थलबाट आवश्यक प्रमाण संकलन गरिएको तथा चोरीमा संलग्न अन्य व्यक्तिको खोजी कार्यसमेत जारी रहेको छ।
स्थानीयवासीले पछिल्लो समय गाउँ क्षेत्रमा प्रहरी गस्ती कमजोर हुँदा चोरीका घटनामा वृद्धि भएको आरोप लगाएका छन्। उनीहरूले रात्रीकालीन सुरक्षा व्यवस्था प्रभावकारी बनाउन तथा नियमित गस्ती बढाउन सम्बन्धित निकायसँग माग गरेका छन्।
प्रहरीले भने घटनाबारे गम्भीर रूपमा अनुसन्धान भइरहेको र दोषीलाई कानुनी दायरामा ल्याइने जनाएको छ।



