
बारा , ०५ भदौ
जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनालाई लिएर उत्पन्न तनाव पाँचबुँदे सहमतिपछि तत्कालका लागि साम्य भएको छ।
भदौ २ गते भएको घटनापछि पीडित परिवार, आफन्त, स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा जिल्ला सुरक्षा समिति, बाराबीच बिहीबार राति पथलैयास्थित सशस्त्र प्रहरी बलको प्राविधिक तालिम शिक्षालयमा वार्ता भएको थियो।
लामो छलफलपछि पाँचबुँदे सहमति भएपछि घटनालाई लिएर हुँदै आएका चरणबद्ध आन्दोलनका कार्यक्रम तत्कालका लागि स्थगित गर्ने निर्णय गरिएको हो।
सहमतिअनुसार पीडित परिवारलाई उचित राहत उपलब्ध गराउनुका साथै रोजगारीको व्यवस्था गर्न स्थानीय तहको सहभागितामा गृह मन्त्रालयसमक्ष सिफारिस गरी आवश्यक पहल गरिने भएको छ।
त्यसैगरी, घटनामा संलग्न भएको आरोपमा हाल प्रहरी हिरासतमा रहेका व्यक्तिमाथि अनुसन्धान जारी राख्दै अनुसन्धानका क्रममा थप व्यक्तिको संलग्नता पुष्टि भए उनीहरूमाथि समेत प्रचलित कानुनअनुसार कडा कारबाही अघि बढाउने सहमति भएको छ।
घटनापछि जिल्लाको सुरक्षा अवस्थालाई लिएर उठेका प्रश्नलाई सम्बोधन गर्न वर्तमान तथा भविष्यका सुरक्षा चुनौतीको विश्लेषण गरी भरपर्दो सुरक्षा वातावरण कायम गर्ने जिम्मेवारी जिल्ला सुरक्षा समितिले लिएको छ।
यसैबीच, इलाका प्रहरी कार्यालय सिमरामा कार्यरत रहँदा घटनाको समयमा लापरबाही गरेको आरोप लागेका सुरक्षाकर्मीमाथि आवश्यक कारबाही गर्ने माग पनि सम्बोधन गर्ने सहमति भएको छ।
पीडित पक्षका माग सम्बोधन गर्ने प्रतिबद्धतापछि आन्दोलनरत पक्ष तत्कालका लागि आन्दोलन स्थगित गर्न सहमत भएको हो। घटनाको निष्पक्ष अनुसन्धान, दोषीमाथि कडा कारबाही र पीडित परिवारलाई न्याय दिलाउने विषयमा भने स्थानीयस्तरमा चासो कायमै रहेको छ।



