मधेशसमाचार

चार सुरक्षा युनिटको छत्रछायामा सीमा तस्करी 

कलैया, २९ असार
बाराको दक्षिणी सीमावर्ती क्षेत्रमा तस्करी फेरि संगठित रूपमा मौलाएको आरोप सार्वजनिक भएको छ। स्थानीयवासी, व्यापारी तथा सुरक्षा स्रोतहरूले प्रहरी चौकी मुहसर्वा, सशस्त्र प्रहरी बल (बीओपी) बरैनिया, प्रहरी चौकी छतवा र इलाका प्रहरी कार्यालय प्रसौनीका केही सुरक्षाकर्मीको मिलेमतोमा रात्रीकालीन तस्करी निर्बाध सञ्चालन भइरहेको दाबी गरेका छन्। यसबाट राज्यको राजस्वमा दैनिक लाखौं रुपैयाँ क्षति पुगेको स्थानीयहरूको भनाइ छ।
सबैभन्दा बढी गतिविधि प्रहरी चौकी मुहसर्वा क्षेत्रबाट हुने गरेको स्थानीयको दाबी छ। भारतबाट धान, मकै, गहुँ, लत्ताकपडा, कस्मेटिक, इलेक्ट्रोनिक्स, मोबाइल तथा मोटरसाइकलका पार्टपुर्जा, खाद्यान्न लगायतका सामान भन्सार छली गरी नेपाल भित्र्याइँदै आएको आरोप छ। सुरक्षा उपस्थितिका बाबजुद तस्करी नरोकिएपछि चौकीको भूमिकामाथि प्रश्न उठेको छ।
त्यसपछि सशस्त्र प्रहरी बल बीओपी बरैनियामाथि पनि गम्भीर आरोप लागेको छ। स्रोतका अनुसार बीओपीका प्रमुखले नियमविपरीत घुमुवा परिचालन गरी सीमावर्ती नाकाबाट सञ्चालन हुने तस्करीबाट नियमित आर्थिक असुली गरिरहेको दाबी गरिएको छ। छतवा, बलिरामपुर र कान्तिपुर नाकाबाट रातको समयमा कपडा, खाद्यान्न, काजु, बिस्कुट, चल्ला, माछा, कुखुरा लगायतका सामान निर्बाध नेपाल भित्रिने गरेको स्थानीयको भनाइ छ।
प्रहरी चौकी छतवा पनि विवादको केन्द्रमा परेको छ। चौकी प्रमुख असई प्रमोद साहमाथि तस्करी नियन्त्रणमा उदासीनता देखाएको तथा केही तस्कर समूहसँग आर्थिक लेनदेन गरी अवैध कारोबारलाई संरक्षण दिएको आरोप स्थानीय स्रोतले लगाएका छन्। यद्यपि असई साहले भने आफूले तस्करी नियन्त्रण गरिरहेको प्रतिक्रिया दिएका छन्।
यता इलाका प्रहरी कार्यालय प्रसौनीमाथि घुमुवा परिचालन गरेर तस्करीलाई संस्थागत संरक्षण दिएको आरोप झन् गम्भीर छ। स्रोतका अनुसार बुनियाद चौकीमा कार्यरत प्रहरी जवान शेषनाथ रौनियारलाई तेस्रो पटक घुमुवाको रूपमा परिचालन गरिएको छ। उनले बलिरामपुर, छतवा, जोतपुर, मटिआर्वा, बसन्तपुर लगायतका नाकाबाट सञ्चालन हुने तस्करीसँग सम्बन्धित व्यक्तिहरूसँग मासिक रूपमा रकम असुली गर्ने गरेको आरोप छ। स्थानीयका अनुसार सानो व्यापारीदेखि ठूला तस्करसम्मबाट मासिक पाँच हजारदेखि पचास हजार रुपैयाँसम्म उठाएर अवैध कारोबारलाई सहज बनाइएको छ।
स्थानीयवासीका अनुसार केही दिनअघि गृहमन्त्रीको अनुगमनपछि दिउँसो तस्करीमा कडाइ गरिए पनि रातको समयमा गतिविधि झन् बढेको छ। सीमा क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको २४सै घण्टा गस्ती रहे पनि तस्करी नियन्त्रण हुन नसक्नुले सुरक्षा संयन्त्रको प्रभावकारितामाथि गम्भीर प्रश्न उठाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button