मधेशसमाचार

एक वर्षको पारिश्रमिक रोकिएपछि सरसफाइ कर्मचारी विचलित

सिकिन्द्र साह
 बारा, २८ साउन
बारा जिल्लाको सिम्रौनगढ नगरपालिका–१० देवापुर टेटाका सरसफाइ कर्मचारी गिरि मलि डोमले एक वर्षदेखि पारिश्रमिक नपाएको गुनासो गरेका छन्। आफूले गरेको कामको पारिश्रमिक लिन पटक–पटक नगरपालिका धाउँदा पनि सुनुवाइ नभएको उनको भनाइ छ।
मलिका अनुसार उनी करार सेवामा नियुक्त भई वडामा सरसफाइ गर्ने, नाला तथा चर्पी सफा गर्ने काम गर्दै आएका थिए। सुरुवाती समयमा नियमित पारिश्रमिक पाए पनि पछिल्लो एक वर्षदेखि भने पारिश्रमिक रोकिएको उनले बताए।
“नगर प्रमुख किशोरी साह कलवारको निर्देशनमा मेरो एक वर्षको पारिश्रमिक रोकिएको हो,” मलिले भने, “पटक–पटक गुहार माग्दा पनि सुनुवाइ भएन। घरमा स–साना बालबालिका छन्। पारिश्रमिक नपाउँदा दैनिक घरखर्च चलाउनसमेत समस्या भएको छ।”
आफू महादलित समुदायबाट भएकै कारण आफ्नो समस्यालाई गम्भीर रूपमा नलिइएको उनको गुनासो छ। नगरपालिकामा आफूजस्तै काम गर्ने केही डोम समुदायका कर्मचारी अझै कार्यरत रहेको उनले बताए।
यता, नगर प्रमुख किशोरी साहले भने नगरपालिकाले नियमअनुसार ११७ जना कर्मचारीलाई हटाएको बताएका छन्। कर्मचारी हटाउने प्रक्रिया कानुन र नगरपालिकाको निर्णयअनुसार नै भएको उनको दाबी छ।
कर्मचारीको पारिश्रमिक रोकिएको विषयमा पीडित पक्ष र नगरपालिकाको फरक–फरक दाबी सार्वजनिक भएपछि घटनाको निष्पक्ष छानबिन आवश्यक देखिएको छ। लामो समय काम गरेका कर्मचारीको पारिश्रमिक रोकिएको भए त्यसको कानुनी तथा प्रशासनिक आधारसमेत स्पष्ट पारिनुपर्ने सरोकारवालाहरूको भनाइ छ।
श्रम गरेबापत पाउनुपर्ने पारिश्रमिकका लागि विपन्न तथा महादलित समुदायका श्रमिकले लामो समयसम्म नगरपालिका धाउनुपर्ने अवस्था आउनु गम्भीर विषय भएको स्थानीयको भनाइ छ। उनीहरूले सम्बन्धित निकायले तत्काल घटनाको छानबिन गरी वास्तविकता सार्वजनिक गर्नुका साथै कर्मचारीको जायज पारिश्रमिक भए उपलब्ध गराउन पहल गर्नुपर्ने माग गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button