
कलैया , २९ असार
केही दिनयता परेको वर्षाले बारा लगायत मधेश प्रदेशका अधिकांश जिल्लामा धान रोपाइँले गति लिन थालेको छ। लामो समयसम्म पर्याप्त वर्षा नहुँदा खेत बाँझै रहने चिन्तामा रहेका किसान वर्षापछि खेतमा व्यस्त देखिए पनि आवश्यक पानीको निरन्तरता नहुँदा दमकल, डिजेल तथा विद्युतीय मोटरबाट सिँचाइ गरेर रोपाइँ गर्न बाध्य भएका छन्। उता, रासायनिक मलको अभावले किसानको चिन्ता भने अझै हट्न सकेको छैन।
बाराका कलैया, सिम्रौनगढ, प्रसौनी, पचरौता, महागढीमाई, विश्रामपुर, आदर्श कोतवाल, फेटा तथा परवानीपुर क्षेत्रका किसान अहिले बिहानदेखि साँझसम्म खेतमा रोपाइँमा जुटेका छन्। वर्षाले केही राहत दिए पनि पानी टिक्न नसकेपछि अधिकांश किसानले अतिरिक्त खर्च गरेर मोटर तथा दमकलमार्फत खेतमा पानी हाल्दै धान रोप्न थालेका हुन्।
कलैया उपमहानगरपालिका–२४ का किसान रामएकवाल यादव भन्छन्, “वर्षाले सुरुमा राहत मिल्यो, तर त्यसपछि पानी रोकियो। रोपाइँ रोक्न नमिल्ने भएकाले डिजेल खर्च गरेर मोटर चलाएर खेतमा पानी लगाइरहेका छौं। मल पनि सहज रूपमा पाइँदैन, खेतीको लागत वर्षेनि बढिरहेको छ।”
सिम्रौनगढ नगरपालिका–८ का किसान शिवनाथ साहको अनुभव पनि उस्तै छ। उनी भन्छन्, “धान रोप्ने समय बित्दै गइरहेको छ। पानीको भर पर्न सकिएन, मोटर चलाउँदा डिजेलको खर्च धेरै हुन्छ। बजारमा मल खोज्दा पनि सहजै पाइँदैन। समयमै मल नपाए उत्पादन घट्ने डर छ।”
किसानका अनुसार वर्षाले रोपाइँको वातावरण बनाए पनि निरन्तर वर्षा नहुँदा भूमिगत पानीको भरमा खेती गर्नुपरेको छ। यसले उत्पादन लागत उल्लेख्य रूपमा बढाएको उनीहरूको भनाइ छ। यता, सरकारी अनुदानको रासायनिक मल पर्याप्त मात्रामा उपलब्ध नभएकाले निजी बजारमा महँगो मूल्य तिरेर मल किन्नुपर्ने बाध्यता रहेको किसानहरूको गुनासो छ।
कृषि जानकारहरूका अनुसार असारको अन्तिम सातासम्म अधिकांश क्षेत्रमा धान रोपाइँ सम्पन्न हुनुपर्ने भए पनि पर्याप्त वर्षा नहुँदा यस वर्ष रोपाइँ केही ढिलो भएको छ। समयमै सिँचाइ र मलको व्यवस्था गर्न नसके उत्पादनमा समेत असर पर्ने उनीहरूको चेतावनी छ।
स्थानीय किसानहरूले सरकारसँग रासायनिक मलको सहज आपूर्ति, सिँचाइ सुविधाको विस्तार तथा डिजेलमा सहुलियतको व्यवस्था गर्न माग गरेका छन्। उनीहरूका अनुसार खेतीपाती नै अधिकांश परिवारको मुख्य आयस्रोत भएकाले किसानमैत्री नीति कार्यान्वयन नगरे खाद्य उत्पादनमा समेत नकारात्मक असर पर्न सक्छ।
मौसमविद्हरूले आगामी केही दिन थप वर्षा हुने सम्भावना औँल्याए पनि किसानहरू भने आकाशतर्फ हेर्दै पानीको प्रतीक्षासँगै खेतमा मोटर र दमकलको सहारामा धान रोपाइँलाई निरन्तरता दिइरहेका छन्।



