मधेशसमाचार

साउनको पहिलो सोमबार भाथाधाममा भक्तजनको घुइँचो, बिहानैदेखि जल अर्पण गर्नेको ठूलो भिड

हरिकिशोर शर्मा

पर्सा , १८ साउन

साउन महिनाको पहिलो सोमबारका अवसरमा पर्साको पेटर्वा सुगौली गाउँपालिकास्थित प्रसिद्ध धार्मिक तीर्थस्थल भाथाधाम (बाबा दुधेश्वरनाथ महादेव) मा दर्शन तथा जल अर्पण गर्ने भक्तजनहरूको बिहानैदेखि ठूलो घुइँचो लागेको छ।

भाथाधामका शम्भु महतो थारुका अनुसार आज बिहानैदेखि नेपालका विभिन्न जिल्ला तथा भारतको बिहारलगायत सीमावर्ती क्षेत्रबाट आएका भक्तजनहरूको उल्लेखनीय भिड लागेको छ। श्रद्धालुहरूले बोलबमको जयघोष गर्दै सोता नदीमा स्नान गरी गङ्गाजल लिएर पहाडमाथि रहेको बाबा दुधेश्वरनाथ महादेवको मन्दिरमा जल अर्पण गरिरहेका छन्।

धार्मिक मान्यताअनुसार साउन महिनाभरि बाबा दुधेश्वरनाथ महादेवलाई जल चढाएर पूजा–आराधना गर्दा मनोकामना पूरा हुने विश्वास रहेको छ। यही आस्थाका कारण प्रत्येक वर्ष साउनभरि यहाँ हजारौं भक्तजन पुग्ने गर्छन्।

मन्दिर व्यवस्थापन समितिका अनुसार भाथाधाममा साउनभरि मेला सञ्चालन हुनेछ। यस तीर्थस्थलमा विशेषगरी साउन महिना र वैशाख महिनाको त्रयोदशी (तेरस) का अवसरमा लाखौं श्रद्धालु दर्शनका लागि आउने परम्परा रहेको छ।

मन्दिर परिसरसँगै रहेको सोता नदी, हरियालीले ढाकिएका पहाड तथा प्राकृतिक सौन्दर्यले भाथाधामको आकर्षण अझ बढाएको छ। भक्तजनहरू उत्साह र भक्तिभावका साथ जल अर्पण गर्दै भगवान् शिवको आराधनामा सहभागी भइरहेकाका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button