मधेशसमाचार

कलैयामा राजसंस्थाको पक्षमा हस्ताक्षर अभियान तीव्र, ७ हजारभन्दा बढीको समर्थन

कलैया, २० साउन
राजसंस्थाको पुनःस्थापनाको माग गर्दै सञ्चालन गरिएको “राजाको पक्षमा जनताको हस्ताक्षर अभियान–२०८३” अन्तर्गत बाराको सदरमुकाम कलैयास्थित भरतचोकमा ७ हजार ८ जना नागरिकले हस्ताक्षर गरेको आयोजकले जनाएको छ।
शाही युवा शक्ति, नेपाल को आयोजनामा साउन ११ गतेदेखि सुरु भएको अभियानप्रति स्थानीय नागरिकको उल्लेखनीय सहभागिता देखिएको दाबी गरिएको छ। अभियानमा सर्वसाधारण, युवा, महिला, ज्येष्ठ नागरिक तथा विभिन्न पेशा–व्यवसायमा आबद्ध व्यक्तिहरूले स्वेच्छाले हस्ताक्षर गरिरहेको आयोजकको भनाइ छ।
अभियानमा सहयोग गरिरहेका राप्रपाका केन्द्रीय सदस्य शिवप्रसाद तिमल्सेनाका अनुसार देशभरबाट एक करोड हस्ताक्षर संकलन गर्ने लक्ष्य राखिएको छ। उनले कलैयामा अपेक्षाभन्दा बढी जनसहभागिता देखिएको दाबी गर्दै मंगलबारसम्म ७ हजार ८ जना ले हस्ताक्षर गरिसकेको जानकारी दिए।
तिमल्सेनाले देशव्यापी रूपमा सञ्चालन भइरहेको सय दिने अभियान अन्तर्गत एक हप्ता नबित्दै ७६ लाखभन्दा बढी हस्ताक्षर संकलन भइसकेको आयोजक पक्षको दाबी रहेको बताए। उनका अनुसार संकलित हस्ताक्षर सम्बन्धित निकायमा बुझाई जनमतका आधारमा राजसंस्थाको पुनःस्थापनाको मागलाई अघि बढाइनेछ।
भरतचोकस्थित अभियानस्थलमा दैनिक बिहानदेखि साँझसम्म हस्ताक्षर संकलन भइरहेको छ। अभियानबारे जानकारी दिने ब्यानर, राष्ट्रिय झण्डा तथा स्वयंसेवकहरूको उपस्थितिका कारण त्यहाँ पुग्ने नागरिकको चासो बढेको देखिन्छ। धेरैले अभियानको उद्देश्यबारे जानकारी लिएपछि हस्ताक्षर गर्ने गरेका छन्।
आयोजकका अनुसार आगामी दिनमा अभियानलाई बाराका अन्य पालिका तथा बजार क्षेत्रमा पनि विस्तार गरिनेछ। अभियान सम्पन्न भएपछि देशभरबाट संकलित हस्ताक्षर सम्बन्धित निकायमा बुझाइने र त्यसपछि थप कार्यक्रम सार्वजनिक गरिने बताइएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button