रौतहटमा एलपी ग्यास ट्यांकर दुर्घटना, पूर्व–पश्चिम राजमार्ग ठप्प

रौतहट, १५ पौष

पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुर–धन्सार सडकखण्डमा पर्ने लमाह पुल नजिक आज बिहान एलपी ग्यास बोकेको ट्यांकर दुर्घटना हुँदा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

भारतको रक्सौलबाट एलपी ग्यास बोकेर धनुषाको महेन्द्रनगरतर्फ जाँदै गरेको यूपी १७ एटी २११४ नम्बरको ट्यांकर आज बिहान दुर्घटनामा परेको हो। दुर्घटनामा ट्यांकर चालक भारतको कदोरा जिल्ला, जयनगर थाना निवासी ३५ वर्षीय पवन यादव घाइते भएका छन्।

घाइते चालकलाई उपचारका लागि चन्द्रनिगाहपुरस्थित सिभिल अस्पताल लगिएको र हाल उनको उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख राजेन्द्र थापामगरले जानकारी दिए।

दुर्घटनापछि ट्यांकर सडकको बीच भागमै पल्टिँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ। पूर्वतर्फबाट आएका सवारीसाधन चन्द्रनिगाहपुरस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि रोकिएका छन् भने पश्चिमतर्फबाट आएका सवारीसाधन धन्सार पुल नजिकै रोकिएको ट्राफिक प्रहरीले जनाएको छ।

ट्यांकरबाट ग्यास लिक भइरहेको कारण थप दुर्घटनाको जोखिम बढेको बताइएको छ। ग्यास ट्यांकर सुरक्षित रूपमा हटाउनका लागि जनकपुरबाट ग्यास कम्पनीका प्राविधिकसहितको टोली घटनास्थलतर्फ आउँदै गरेको ट्राफिक प्रहरी प्रमुख थापामगरले जानकारी दिए।

सडक खुलाउन र जोखिम न्यूनीकरण गर्न सुरक्षाकर्मी तथा सम्बन्धित निकायले आवश्यक सतर्कता अपनाइरहेका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *