
कलैया, १४ साउन
मानवअधिकार एलायन्स, मधेश प्रदेशले सिरहाको गोलबजारमा गोली लागेर मिर्चैया नगरपालिका–५ तुलसीपुरका करिब १८ वर्षीय गणेश यादवको मृत्यु तथा अर्का एक जना घाइते भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संस्थाले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
विज्ञप्तिमा नेपालको संविधानले प्रत्याभूत गरेको जीवन, समानता, धार्मिक स्वतन्त्रता तथा सुरक्षाको अधिकारको सम्मान गर्न आग्रह गर्दै कुनै पनि परिस्थितिमा हिंसा र अत्यधिक बल प्रयोग मानवअधिकारको आधारभूत सिद्धान्तविपरीत हुने उल्लेख गरिएको छ।
मानवअधिकार एलायन्सले नेपाल सरकार, गृह प्रशासन, नेपाल प्रहरी तथा राष्ट्रिय मानवअधिकार आयोगसँग घटनाको स्वतन्त्र, निष्पक्ष र प्रभावकारी छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न, दोषीमाथि कानुनबमोजिम कारबाही गर्न तथा पीडित परिवारलाई उचित राहत, क्षतिपूर्ति, सुरक्षा र न्याय सुनिश्चित गर्न माग गरेको छ।
साथै संस्थाले सबै राजनीतिक दल, नागरिक समाज, सञ्चारमाध्यम तथा स्थानीय समुदायलाई अफवाह, घृणाजन्य अभिव्यक्ति र हिंसालाई निरुत्साहित गर्दै सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र शान्ति कायम राख्न अपिल गरेको छ। विज्ञप्तिमा मानवअधिकार, सामाजिक न्याय, कानुनी शासन तथा दिगो शान्तिप्रति संस्था सदैव प्रतिबद्ध रहने उल्लेख गरिएको छ।



